मेलम्चीको पानी आजै काठमाडौँ ल्याइने
२२ असोज, काठमाडौँ । मेलम्चीको खानेपानी आजै काठमाडौँको सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौँ ल्याउन लागिएको हो ।
खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानीमन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ । आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ ।” दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।
वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी विकास समितिले काठमाडौँ पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी ल्याउन छिटो हुनेछ ।” विसं २०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौँमा हिउँदयाममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।
प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार १५:४४