१५ पुष २०८१, सोमबार | Mon Dec 30 2024

राप्रपाका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

१८ असोज, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गर्नुभएको छ ।

सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्नु भई पार्टी केन्द्रीय अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गर्नुभएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रहनुभएको छ ।

यसैगरी पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी)को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार १०:१६