१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुल्यो

७ असोज, काठमाडौँ । नेपाली ईन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुलेको छ । यसका लागि नेपाल ईन्जिनियरीङ् काउन्सिलले प्रकृया अघि बढाएको हो ।

सोमबार ईन्जिनियरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग प्रारम्भिक अन्तरक्रिया भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरुले समेत यो प्रकृयालाई अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री दाहालले नेपाली ईन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाका लागि आवश्यक नीतिगत तथा कानूनी प्रकृयाका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । ‘यो प्रकृया अघि बढाउन निक्कै ढिला भएको छ’ मन्त्री दाहालले भन्नुभयो, ‘तर ढिलै भए पनि प्रकृयाको थालनी भयो, सवै मिलेर यसलाई अवरुद्ध हुन नदिई पूरा गर्नु पर्छ ।’
सोहि कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रकृया पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ईन्जिनियरीङ्का क्षेत्रमा अन्वेशण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनु पर्ने पनि जनाउनुभयो । त्रिभुवन विश्व विद्यालय ईन्जिनियरीङ् अध्ययन् संस्थानका प्रा.डा. नरेन्द्रमान शाक्यले नेपालमा ईन्जिनियरीङ् शिक्षा तथा पेशागत अवस्थाका बारेमा आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

उक्त एकडमा आवद्ध राष्ट्रहरुका ईन्जिनियरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक अवसर प्राप्त हुने कार्यक्रममा बताईयो । काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्वन्धन र स्विकृति नपाई रहेको अवस्थामा यो प्रकृयाको थालनी गरिएको बताउनुभयो ।

यो प्रकृया पूरा हुन ४ देखि १० वर्ष सम्म लाग्ने भए पनि प्रकृयाको थालनीले नेपाली ईन्जिनियरीङ् क्षेत्रलाई आशावादी बनाएको उल्लेख गर्नु भयो । यो प्रकृयाको थालनीले नेपाली ईन्जिनियरहरुलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृयाको ढोका खुलेको उहाँको भनाई छ ।

प्रकाशित मिति : September 23, 2024 at 2:01 pm