११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अष्ट्रेलियामा इन्द्र जात्रा

अष्ट्रेलिया । गुठी साउथ अष्ट्रेलियाको आयोजनामा शनिवार इन्द्र जात्रा भव्य रुपमा सम्पन्न भएको छ ।

इन्द्र जात्रा अर्थात येँयाः पुन्ही विगत २०१७ देखि एडिलेडमा आयोजना हुदै आएको छ । स्थानिय सान जर्जियो ला मोलारा कम्युनिटीहल  सेन्टरमा आयोजित जात्रामा ठुलो मात्रा नेपाली समुदाय सहित गैर्ह नेपालीहरुको समेत उपस्थिति रहेको थियो ।

कुमारीको साथमा लाखे, पुलु किसी र धिमे बाजा बजाउदै कार्यक्रम स्थलमा निकालिएको थियो । परम्परागत ढंगबाट निर्माण गरिएको सम्य ब:जि दर्शकहरुको फोटो सेसनका लागि समेत आकर्षण बनेको थियो ।

दैनिकी संग कुरा गर्दै अध्यक्ष पन्ना काजी महर्जनले स्पोन्सर, स्वयम् सेवक तथा सबै सहभागी सहयोगीहरुमा धन्यवाद व्यक्त गर्दै आगामी वर्षको कार्यक्रमलाई अझ भव्य बनाउने समेत बताए ।

गुठी साउथ अष्ट्रेलियाका सह सचिव सजिन प्रधानाङ्गले सबै नेपाली समुदायको सहयोग रहेकाले जात्रा भव्य रुपमा सफल रहेको बताउदै जात्रालाई आगामी बर्षहरुमा थप भव्य बनाउदै लगिने बताए ।

एनआरएनए साउथ अष्ट्रेलियाका सह सचिव हेम श्रेष्ठले नेपालमा जाति समुदाय खासले मनाउने पर्वहरु भए पनि प्रवासमा सबै पर्व जात्राहरु साझा रुपमा मनाउदै आएको बताउदै अष्ट्रेलियामा हुर्केको नयाँ पुस्ताको उल्लेखनीय रुपमा रहेको उपस्थितिले  नेपाली परम्परागत जात्राहरुको वारेमा जानकारी दिन केहि हद सम्म सफल रहेको बताए ।

२०१५ मा स्थापित गुठी साउथ अष्ट्रेलियाले २०१७ देखी एडिलेडमा सार्वजनिक रुपमा ईन्द्र जात्रा गर्दै आएको छ ।

काठमाडौं उपत्यकामा इन्द्र जात्राको सम्बन्धमा रहेको किम्बदन्ती अनुसार अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्नका लागि आवश्यक पारिजातको फूल टिप्न पृथ्वीमा आएका थिए । पारिजातको फूल खोज्दै इन्द्र हालको भीमसेनस्थानभन्दा तल रहेको एउटा बँगैचामा पुगे । बहुमूल्यको पारिजातको फूल अनुमति विनै टिप्न खोजेपछि मालीले तान्त्रिक विधिमार्फत् इन्द्रलाई समातेर राजा समक्ष पेश गरे । उनलाई सबैले देख्ने चोकमा एउटा लिंगोमा बाँधेर राखिएको थियो । देवताका राजा इन्द्रले पृथ्वीवासीबाट सजाय पाइरहेका थिए ।

लामो समयसम्म फूल लिन गएको छोरा नफर्किएपछि आमा वसुन्धराले ऐेरावत हात्तीलाई छोरा खोज्न पठाइन् । इन्द्रलाई खोज्न आएको हात्तीले भिडको बीचमा अफ्ट्यारोमा परेका इन्द्रलाई भेट्यो । पछि वसुन्धरा पनि बहुलाको भेषमा आफ्नो छोरा खोज्दै आइन् र छोरालाई बाधेर राखेको देखिन् । काठमाडौं वासीको माग बमोजिम धानबाली समयमै पाक्ने बनाइदिने र मरेकालाई स्वर्ग लैजाने बाचा गरेर इन्द्रलाई छुटाएको र आमा छोरा थानकोटमा रहेको इन्द्रदहमा नुहाएर स्वर्ग गए भन्ने भनाइ छ । बसुन्धराको बाचा अनुसार त्यसपछि काठमाडौंका खेतीबारी राम्रो हुन थाले भने मरेकाहरू पनि स्वर्ग जान थाले भन्ने विश्वास छ । रथजात्राको पहिलो दिन दागिं निकाल्ने परम्परा छ । दागिं निकालिसकेपछि दिवंगतहरू स्वर्ग जान्छन् भन्ने बिश्वास रहेको छ ।

प्रकाशित मिति : September 23, 2024 at 7:39 am