५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

रवि लामिछाने फ्रड हो, आचरणपनि खत्तम छः भीमसेनदास प्रधान

५ असोज, काठमाडौँ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताउनुभएको छ । उहाँले रवि लामिछानेलाई फ्रडको संज्ञा दिनुभयो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री प्रधानले लामिछानेको आचरणपनि खत्तम रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजशरम केही पनि छैन् । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ् भएको भन्दै अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरूरी नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘अहिले बास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । अनिमात्रै छानबिन समिति बन्यो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिवेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो । एमाले र माओवादीको सरकार थियो। त्यो सरकारले डिफेन्स गर्ला भनेको थिएँ । सूर्य थापा त त्यतिवेला रवि लामिछानेको वकालत गर्ने मान्छे । ठीक ढंगले रिपोर्ट आउँदैन भन्ने थियो । पार्लियामेन्टमा रवि लामिछानेको पक्षमा उसले ठगी र भ्रष्टाचार गरेको छैन भनेर एमालेका सांसदहरुले नै धेरै बोलेका थिए । पछि कांग्रेस र एमालेको सरकार बन्यो । अहिले प्रतिवेदन आईसकेको छ, अब घामजस्तै छर्लङ भैसकेको छ । रिपोर्टको चार नम्बर बुँदामा समितिले रवि लामिछानेलाई कारबाहीको सिफारिश गरेको छ ।’

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार १७:२३