११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

माथिल्लो तामाकोसीको शेयर विवादः चक्का जामले देला त समाधान ?

५ चैत, दोलाखा । शेयर वितरण ‘मोडालिटी’ सच्याउनुपर्ने माग गर्दै अपर तामाकोशी शेयर सरोकार संयुक्त संघर्ष समितिले आज चरिकोटमा एक घण्टा चक्काजाम गरेको छ ।

समितिले पटक पटक समय दिँदा पनि आफूहरुको माग पूरा नभएको भन्दै सदरमुकाम चरिकोटमा एक घण्टा सडक धर्नासहित चक्काजाम गरेको हो ।

समितिको आह्वानमा माथिल्लो तामाकोसीको शेयर निष्कासन प्रक्रियाबाट असन्तुष्ट भएकाले सातदोबाटो चोकमा एक घण्टा यातायात अवरुद्ध गरेका हुन् ।

चक्काजामपछि अयोजित कोणसभामा संघर्ष समितिका संयोजक एवं नेपाली काँग्रेसका नेता बर्मा लामाले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

संघर्ष समितिले मंगलबार जिल्ला समन्वय समितिको कार्यालयमा एक घण्टा धर्ना दिने र चैत्र १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना, आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने जनाएको छ ।

संघर्ष समितिले शेयर वितरणमा दोलखावासीलाई विभेद नगरी अतिप्रभावित र प्रभावित गरी दुई तहमा मात्र वर्गीकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखावासीलाई सहज रुपमा शेयर हाल्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने, रकम जुटाउन नसक्ने दोलखावासीलाई शेयर प्रमाणपत्र धितो राखेर शेयर हाल्ने व्यवस्था मिलाउनुपर्नेलगायतका माग राखेका छन् ।

प्रकाशित मिति : March 19, 2018 at 8:18 pm