९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि

३१ भदौ, काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।

कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो ।कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिनुभएको छ ।

कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।

प्रशासक धितालका अनुसार सञ्चयकोषमा रु पाँच खर्ब २९ अर्ब ६९ करोडसहित करिब रु छ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको छ । कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजनासमेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : 10:16