१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

२७ भदौ, काठमाडौँ । वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका–७  घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ घर भई काठमाडौँ सिनामङ्गल बस्ने ३६ वर्षीय सल्लउदिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये सिंहले दुई जनालाई दुबई पठाउने भन्दै रु आठ लाख ४० हजार, वेगले दुई जनालाई कुवेत पठाउने भन्दै रु सात लाख २० हजार तथा दाहालले तीन जनालाई क्रोएसिया पठाउने भन्दै रु आठ लाख २५ हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहिन भएको पीडितको उजुरीका आधारमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : September 12, 2024 at 12:43 pm