२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

पोखराका १० सरकारी विद्यालयमा चिनियाँ भाषा पढाउँदै महानगर

२४ भदौ, काठमाडौँ । पोखरा महानगरका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी भएको छ।

पोखरा महानगरपालिका र काठमाडौस्थित चिनियाँ दूतावासबीच सम्झौता भएर भाषा कक्षा संचालन गर्न लागिएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो ।

पोखरा महानगर र चिनियाँ दूतावासबीच ३ महिनाअघि उक्त भाषा संचालन गर्न सम्झौता भएको थियो। भाषाका लागि कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् ।

चिनियाँ भाषा पढाउन छनौट गरेका विद्यालयहरुमा लक्ष्मी आदर्श मावि सिसुवा, गौरीशंकर मावि हेम्जा, विष्णु पादुका मावि हेमजा, पार्दी मावि, बालमन्दिर मावि नदीपुर, जनप्रकाश मावि भण्डारढिक, छोरेपाटन मावि, राष्ट्रिय मावि टुडिखेल, लक्ष्मी मावि अर्घौ र जनप्रिय मावि सिमलचौर छन्।

यी विद्यालयले चिनियाँ भाषा सिक्न चाहने विद्यार्थीहरूले २० देखि ३० जनासम्मको समुह बनाएर अतिरिक्त समयमा कक्षा संचालन हुने मेयर आचार्यले बताउनुभयो। कक्षा यही भदौ २७ गतेदेखि संचालन हुनेछ।

मेयर आचार्यले भन्नुभयो-‘चिनियाँ भाषा कक्षा विद्यार्थीले मात्र नभएर बाहिरका व्यवसायी र पर्यटक गाइड पनि भाषा कक्षामा सहभागी हुन पाउनेछन् ।

उहाँले पोखरा घुम्न आउने विदेशी पर्यटकलाई लक्षित गरेर चाइनिज भाषा कक्षा चलाउन लागेको र भविश्यमा फ्रेन्च र स्पेनिस भाषा पनि चलाउन दूतावासहरुसँग कुरा गरेको बताउनुभयो ।

प्रकाशित मिति : September 9, 2024 at 1:45 pm