३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

रोकिएन प्रधानमन्त्री ओलीको फेसबुक ‘अनफलो’ अभियान

१९ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार चलिरहेका बेला बालेनका समर्थकहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ अभियान चलाइरहेका छन् ।

मंगलबार बेलुकाबाट प्रधानमन्त्रीको फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका बालेनका समर्थकहरू अझै रोकिएका छैनन् ।

मेयर साहले आइतबार साँझ नेकपा एमाले (लुम्बिनी) का प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको भन्दै आफ्नो फेसबुक मार्फत एक स्ट्याटस राखेपछि बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक वार सुरु भएको थियो । उक्त वारपछि बालेनको फेसबुक स्ट्याटस मंगलबार हटेको थियो ।

त्यस लगत्तै आगो बनेका मेयर शाहले आफ्नो स्ट्याटस हटाइएको दाबी गर्दै मंगलबार पुन: अर्को पोस्ट लेखेका थिए । उनले सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ भनेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई ‘अनफलो’ गर्न सुरू गरेका थिए ।

ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा बुधबार दिउँसोसम्ममा घटेर ५ लाख ९२ हजार पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १५:२५