१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

महिला आरोहीको सफलता माथि ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ तयार

१२ भदौ, काठमाडौं । गन्जला चुलीमा २७ जना महिलाको उल्लेखनीय आरोहणलाई चित्रण गर्दै वृत्तचित्र फिल्म ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ प्रदर्शन गरिएको छ । सोमबार विश्व समावेशी साहसी संस्थाको आयोजनामा भएको कार्यक्रममा सीमान्तकृत पृष्ठभूमिबाट आएका महिलाहरुको प्रेरणादायी यात्रालाई प्रस्तुत गरिएको थियो ।

३४ मिनेटको वृत्तचित्रले दक्षिण पूर्वी मोहडाबाट पहिलो पटक गन्जला चुली छुने प्रयासमा अनुभवी सगरमाथा आरोही माया गुरुङ र उनको टिमले गरेको प्रयासको वर्णन गरिएको छ । वृत्तचित्रले काठमाडौंसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाका महिलाहरूले सामना गर्नुपरेका कठिन चुनौती र विजयलाई चित्रण गरेको छ ।

वृत्तचित्र प्रर्दशनीपछि सिन्धुपाल्चोक वरपरका हिमाल र माया गुरुङको पर्वतारोहणमा भइरहेको प्रयासका बारेमा चर्चा गरिएको थियो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले दिगो पर्यटन, वातावरण संरक्षण र महिला सशक्तिकरणमा गुरुङको योगदानको प्रशंसा गर्नुभयो ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले वृत्तचित्रले राष्ट्रको अवस्थाप्रति निराश बन्दै गएका नेपाली युवाका लागि आशा र प्रेरणाको ज्योति बनेको उल्लेख गर्दै पर्यटनमा महिला रोजगारीको महत्वलाई जोड दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, प्रा चिरन्जीवी खनाल, मोहन श्रेष्ठ, प्रदिप कुमार उदय, हरि थापा, प्रदिप पोखरेल, ओमकृष्ण प्रसाईं, उत्तम केसी, सुमन रिमाल, माधवप्रसाद तिवारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा आरोहीहरुको उपलब्धि मात्र नभई नेपालमा महिला सशक्तीकरण र पर्वतारोहणका लागि उनीहरुले गरेको व्यापक प्रयासको प्रशंसा गरिएको थियो । नेपाल पर्वतारोहण संघले गन्जला चुली आरोहण गर्ने महिला आरोहीहरुलाई उनीहरुको उपलब्धिको कदर गर्दै प्रमाणपत्र प्रदान गरेको थियो ।

वृत्तचित्रलाई अनुभवी फिल्मकर्मी लव प्याकुरेलले निर्देशन र सम्पादन गर्नुभएको हो । प्याकुरेलले यो वृत्तचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्य सान्दर्भिक मञ्चमा प्रदर्शन गर्ने योजना रहेको बताउनुभयो । रमेश धमला, देवु राजवंशी र मनमाया तामाङको छायाङ्कन रहेको वृत्तचित्रमा भिएफएक्स मानबहादुर थापा र कलर ग्रेडिङ अच्युत बजगाईले गर्नुभएको छ ।

प्रकाशित मिति : August 28, 2024 at 10:27 am