२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

विद्युत बक्याैताबारे प्रधानमन्त्रीः ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ

१० भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणले विद्युत बक्यौता असुली नगर्ने तर विवादित बनाउने र उद्योगीहरूसँग वर्षौदेखि बार्गेनिङमात्र गर्ने काम जारी रोखपछि  फेरि मुख खोल्नुभएको छ ।

आइतबार राति सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले पुनः विद्युत बक्यौता ६ अर्बमात्र होइन २२ अर्ब नै उठाइनुपर्ने बताउनुभएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ओली सरकारले उद्योगीले उपयोग गरेको विजुलीको पैसा पनि नतिर भन्यो भन्दै प्रोपोगाण्डा चलाउन थालेपछि प्रधानमन्त्रीको फेसबुक पेजबाट फेरि विद्युत बक्यौताका बारेमा टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ ! केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।’

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ०७:५५