१० असार २०८३, बुधबार | Thu Jun 25 2026

पाँच वर्षपछि तान्त्रिक विधिअनुसार मध्यपुरथिमिमा नाचिँदै महाकाली प्याखँ

४ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशमा विभिन्न कारणले रोकिएको परम्परागत एवं मौलिक महाकाली प्याखँ (नाच) पाँच वर्षपछि यसवर्ष प्रदर्शन हुने भएको छ ।

विभिन्न १६ देवीदेवताको मुकुण्डो र पोसाक लगाएर तान्त्रिक विधि पूरा गरी ऐतिहासिक एवं धार्मिक महत्वका साथ नाचिने महाकाली प्याखँ भोलि भदौ ५ गते साँझ ६ बजेबाट सुरु हुने गरि तयारी पूरा भएको छ ।

मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतका बाजाको संयुक्त तालमा नाचिने प्याखँमा महाकाली १, महादेवी १, महालक्ष्मी १, देवी १, वेताल ४, भूत भैरव २, कवाँ २, ख्याक २, माक २, सिंह १ गरी १६ देवीदेवताको प्रतिकका रुपमा नाचिने गरिन्छ ।

यसवर्ष महाकालीको भूमिकामा प्रनिश ज्यापु, महादेवीमा अविरल कोजु, महालक्ष्मीमा बिक्की डङ्गोल, सिंहमा रोनित तको, बेतालमा अविन कालु, शैलेश ज्यापु, रोनप बाडे र विप्लप साझ्या, भूत भैरवमा निरोज बाडे र दिपेश बाडे, कवाँमा एरिन अवाल र क्षितिज बाडे, ख्याकमा रोजिन सलाजू र रिदेश तको, माकमा अभियान तको र अविक अवाल मुकुण्डो तथा पोसाक लगाएर नाच नाच्नेछन् ।

यस्तै बाद्यबाधन समूहसमेत गरी ५० जनाभन्दा बढी कलाकारको सक्रिय सहभागिता रहने यो प्याखँ दैनिक करिब चार घन्टाका दरले नगदेशका विभिन्न टोलमा प्रदर्शन गरिन्छ । महाकालीमा विभिन्न २१ ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ ।

नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।

पहिलो दिन ५ गते साँझ ६ बजेदेखि नाचिने यो नाच नगदेशका लाछी (गणेश मन्दिर अगाडि), दोस्रो दिन भदौ ६ गते नगदशेको वाहाननी, तेस्रो दिन भदौ ७ गते छ्वास त्वाः र अन्तिम दिन भदौ ८ गते साँझ ६ बजेदेखि नगदेशको सम्पूर्ण क्षेत्रमा प्रदर्शन गर्नुका साथै मोसी र सगुन ग्रहण गरिने भएको छ ।

मध्यपुरथिमिलाई भूतप्रेत, पिचाश र दानवी शक्तिबाट जोगाउन यस्ता परम्परागत धार्मिक आस्था बोकेको महाकाली, भैलः (भैरव), लाय्कु भैलः प्याखँ प्रत्येक वर्षको परम्परा सुरु भएको बताइन्छ ।

प्रकाशित मिति : August 20, 2024 at 3:30 pm