११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

सोलुखुम्बुको बाढी क्षेत्रमा राहत र उद्दारमा कमी हुन नदिन प्रचण्डको आग्रह

१ भदौ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बाढीमा परेकाहरूको उद्धार र राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गर्नुभएको छ ।

अध्यक्ष दाहालले आज अपराह्न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपिल गर्दछु ।”

उहाँले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयामिक जोखिममा पर्दै गएको जानकारी गराउँदै हिमाल पग्लिने क्रम जारी रहेकामा चिन्ता प्रकट गर्नुभएको छ । उहाँले नेपालजस्ता देशहरूले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको पनि बताउनुभयो ।

“हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन् । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “मैले संयुक्त राष्ट्रसङ्घको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ । नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ ।”

प्रकाशित मिति : 18:15