जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याको बनाउन राष्ट्रपति पौडेलको पहल
१ भदौ, काठमाडाैँ । भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले तीन सय शय्याको केन्द्र निर्माण पूरा भएपछि अर्को चरणमा केन्द्रलाई एक हजार शय्यामा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
नेपाल र भारतबीच प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार केन्द्रको तीन सय शय्याको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । भविष्यमा मुलुकका निम्ति आवश्यकपर्ने चिकित्सा सेवा एवं अध्ययन अनुसन्धान तीन सय शय्याबाट पर्याप्त नहुने भएकाले त्यसलाई एक हजार शयमा स्तरोन्नति गर्न राष्ट्रपति पौडेलले विशेष जोड दिँदै आउनुभएको थियो ।
सहरी आवास तथा भवन निर्माण विभागले तीन सय शय्याको डिपीआरसम्बन्धी संरचना तयार गरी निर्माण पनि तदनुरुप ह्ुनुपर्नेतर्फ उहाँले नेपाल सरकारका सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दै आउनुभएको थियो ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा केन्द्र स्थापना भएको हो । केन्द्रलाई देशको विशिष्ट अस्पताल तथा चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्ने लक्ष्य छ ।
प्रकाशित मिति : August 17, 2024 at 4:24 pm









