३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

चिकित्सक फाउन्डेसन दम्पतीद्वारा स्थापना

१ भदौ, चितवन । सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका यहाँका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउण्डेसन’ स्थापना गरेका हुन् ।

फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताउनुभयो । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उहाँले जानकारी दिनुभयो । वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उहाँले बताउनुभयो ।

आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष रु एक करोड पुर्याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।

फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०÷१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उहाँहरुको योजना छ । विपन्न २० परिवारलाई स्वास्थ्य बीमा गरिदिने योजना छ ।

सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उहाँहरुले अन्य दाताको सहयोग नलिने बताउनुभयो । यद्यपि सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार ११:१४