२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल

२९ साउन, बाँके । राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ । दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन् । वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा बँदेल र बाँदर आतङ्क बढेको छ । रोग, कीराको प्रकोपबाट जसोतसो बचेको बाली वन्यजन्तुले सखाप पार्ने गरेकाले समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने उहाँको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा अवस्थित राप्तीसोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन् । वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिमपूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायत टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारूले बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका–८ बालापुरका स्थानीयवासी महावीर खत्रीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गर्नुभयो । उहाँले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गर्नुभयो । निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको पक्षमा काम नभएको उहाँको गुनासो छ ।

राप्तीसोनारीको वडा नं १ मा लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित छन् । वन्यजन्तु समस्या प्रमुख समस्याका रूपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो ।

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बैजनाथ गाउँपालिका–१, कोहलपुर नगरपालिकाको वडा नं १२ र १३ का गाउँबस्ती रहेका छन् । मध्यवर्ती क्षेत्रका जनप्रतिनिधिले वन्यजन्तु समस्या समाधानका लागि प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन तथा कृषि समितिमा संयुक्त रूपमा माग गरे पनि सुनुवाइ हुन नसकेको राप्ती सोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले बताउनुभयो ।

सांसद सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको जनाउँदै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवालाई एक घर रु २५ लाखको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ रु पाँच लाख पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गरिरहेको जानकारी दिनुभयो ।

निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा क्षतिपूर्ति वितरण गरेको छ । त्यसमध्ये अन्नबाली क्षतिका दुई सय ७२ घटनामा रु १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार ११:०३