२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

केरुङ काठमाडौँ रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने टोली दुप्चेश्वरमा, अध्ययनको काम यसै वर्ष सकिने

२७ साउन, नुवाकोट । नेपाल र चीनबीच प्रस्तावित केरुङ काठमाडौँ रेल मार्गको विस्तृत अध्ययन (डिटेल फिजिविलिटी स्टडी) जारी छ । यही क्रममा केरुङ काठमाडौँ रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने टोली दुप्चेश्वरमा पुगेको छ । नुवाकोट र रसुवाको विभिन्न ठाउँमा सम्भाव्यता अध्ययनको काम गरिरहेको टोली आइतबार नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ६ ढाँडखर्कमा पुगेको छ । करिब डेढ वर्षदेखि रसुवा र नुवाकोटको विभिन्न स्थानमा अध्ययनको काम गरिरहेको टोली आइतबार दुप्चेश्वर पुगेको हो ।

चीन सरकारको चाइना रेलवे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरू गत वर्षको पुस १२ गतेदेखि अध्ययनको काममा रहेका छन । चिनियाँ टोलीले बढीमा तीन वर्षमा अध्ययन गरेर सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाउनेछ । चालु आर्थिक वर्षको बजेट प्रस्तुतीका क्रममा तत्कालीन अर्थमन्त्रीले सम्भाव्यताको अध्ययनको काम यसै वर्ष सकिने घोषणा गरेका थिए ।

कठिन भौगोलिक बनोटका कारण प्रस्तावित सो रेल मार्ग निर्माण चुनौतीपूर्ण रहेको भनिए पनि टोलीले भूबनोट, टनेलिङ तथा भूकम्पीय जोखिमलगायतका विषयमा अध्ययन गरिरहेको छ । अध्ययनको पहिलो चरणमा हवाई सर्वेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेलवे अलाइनमेन्ट) तथा लागत अनुमानसम्बन्धी अध्ययन गरिनेछ ।

दुई मुलुकबीच भएको समझादारीअनुसार चीनले आफ्नो आर्थिक र प्राविधिक लगानीमा विस्तृत सम्भाव्यता अध्ययन हुनेछ । यो रेल मार्गको ‘डीपीआर’ तयार गर्न करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ । विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेल मार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने हुन्छ । सम्भाव्यता अध्ययन प्रतिवेदनले सो रेलवे परियोजनाको कुल लागत, निर्माणको ‘मोडेल’लगायतका विषयबारे टुङ्गो लाग्नेछ ।

यो पनि पढ्नुहोस्

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १८:१७