१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

एनआईसी एशिया बैंकको नाफा १ अर्ब ३८ करोड, निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

२१ साउन, काठमाडौँ । एनआईसी एशिया बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको चौँथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेर दिएको जानकारी अनुसार बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको हो । आर्थिक वर्षको मसान्तसम्ममा बैंकले कमाएको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८.९१ प्रतिशत कम हो।

रोशनकुमार न्याैपानेको नेतृत्वमा अघि बढिरहेको बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेको छ, भने खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेको छ।

dainiki.com

बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ। १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.९५ प्रतिशत बढेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ११:१३