११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

१५ साउन, काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ ।

मंगलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहनुहुने सांसदहरूको नाम प्रस्ताव गर्ने कार्यसूची समेत रहेको छ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी, १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण दाहालले संयुक्त समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : July 30, 2024 at 9:29 am