२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

१२ साउन, काठमाडाैँ । मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो । स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ ।

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे । “नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरु दिगो बैंकिङमार्फत् यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ”, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । “बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापीरुपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ”, उनले भने ।

वाकाथनका अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायव प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भुपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौँ उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो ।

शनिबार बिहान ७ः३५ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुंगिएको थियो ।

बैंकका अनुसार नारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज बिहान वाकाथन आयोजना गरिएको थियो । नबिल बैंक नेपालका अग्रणी बैंकहरूमध्ये एक हो ।

बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुआत गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार ११:४९