२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

प्रधानमन्त्रीको निर्देशनपछि बंगलादेशबाट १७ विद्यार्थीको उद्धार, स्वदेश फर्किन निवेदन दिन सक्ने 

६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताएका छन । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन ।

प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।”

dainiki.com

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

फारम भर्नका लागि यो लिंकमा जान सक्नुहुन्छ । 

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार ०९:२०