चिनियाँ समकक्षी लिले पनि दिए प्रधानमन्त्री ओलीलाई बधाई
२ साउन, काठमाडौँ । चिनियाँ प्रधानमन्त्री लि चियाङले नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकामा केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत आज एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भन्नुभएको छ, “यहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।”
आफ्नो सन्देशमा प्रधानमन्त्री लिले हिमाल र नदीहरूले जोडिएका दुई छिमेकी मित्रराष्ट्रहरूबीच ६९ वर्षदेखिको मित्रवत् सम्बन्ध पञ्चशीलमा आधारित शान्तिपूर्ण सहअस्तित्व तथा समानताको असल उदाहरण भएको बताउनुभएको छ ।
प्रधानमन्त्री लिले दुई देशका नेताबीच भएको महत्त्वपूर्ण समझदारी नेपाल–चीन उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’मा सहकार्य एवं विकास र समृद्धिका लागि विविध क्षेत्रसहित नेपाल–चीनबीचका नयाँ रणनीतिक सहकार्य सम्झौता विस्तार गर्दै प्रधानमन्त्री ओलीसँग काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार २३:१४