१० भाद्र २०८१, सोमबार | Mon Aug 26 2024

सुदूरपश्चिमको राजस्व संकलन र खर्चसम्बन्धी गतिविधि ठप्प, सोडारी र सरकार दुबै असफल

१ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशमा राजस्व संकलन र खर्चसम्बन्धी गतिविधि आजदेखि ठप्प भएको छ । सरकारको चालू आर्थिक वर्ष २०८१/८२ को बजेट असार ३१ भित्र पारित गर्नुपर्नेमा त्यसो नहुँदा नयाँ समस्या सिर्जना भएको हो ।

प्रदेशसभामा प्रस्तुत भएको बजेट असफल भएकाले आज साउन १ गतेदेखि प्रदेशको राजस्व सङ्कलन र खर्चसम्बन्धी गतिविधिसमेत ठप्प हुने प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए । प्रदेशसभामा बजेट प्रस्तुत भए पनि छलफल समेत नभइ म्याद गुज्रिएकाले उक्त बजेट स्वत फेल भएको मानिने प्रमुख जोशीले बताए ।

प्रदेशका आर्थिक मामिलामन्त्री एवं प्रवक्ता अक्कलबहादुर रावलले प्रदेशसभामा बजेट पेश गरेपछि त्यसपछि प्रदेशसभाको बैठक नै बस्न सकेको थिएन । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै नेकपा (एमाले)ले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता एवं मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन ।

सत्तासमीकरणमा अबद्ध दल नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् । यद्यपी मुख्यमन्त्री सोडारीले राजीनामा दिन मानिरहेका छैनन् ।

यसअघिको सत्तासमीकरणमा सहभागी नेकपा(एमाले)बाट सरकारमा प्रतिनिधित्व गर्नुहुने आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेशसभामा असार १ गते बजेट प्रस्तुत गरेका थिए । तर यो बीचमै सत्ता फेरबदल भएपछि सुदुरपश्चिममा संकट भएको छ । बजेटसँगै सरकार असफल भए पनि मुख्यमन्त्री सोडारी भने लिसो झैँ कुर्सीमा टाँसिएर बसेका छन । बजेट असफल हुँदा सरकार असफल भएको मानिन्छ र सरकारमा बसेकाहरूले नैतिक रूपमा त्यसको जिम्मेवारी लिँदै सहज रूपमा सत्ता छाडेर मार्गप्रशस्त गर्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ०७:३५