३ श्रावण २०८१, बिहीबार | Thu Jul 18 2024

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला


२१ असार, काठमाडौँ । जिल्लाको सबैला नगरपालिका–६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन् । पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन सुरु गरेको हो ।

प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले राससलाई जानकारी दिनुभयो । “अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ”, उहाँले भन्नुभयो, “सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने तयारीमा छौँ ।”

स्थानीय ६० वर्षीय रामवृक्ष यादवले भन्नुभयो, “पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख गरिएको छ ।”

सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास रहेको ७५ वर्षीय राममनोहर साहले बताउनुभयो । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा चारवटा मठ निर्माण गर्नुभएको थियो ।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाको गोविन्दपुरमा मठेश्वरनाथ र भारतको विहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको इतिहास रहेको साहले जानकारी दिनुभयो । “तीमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथको भग्नावशेष मात्र बाँकी छ”, उहाँले भन्नुभयो ।

पुरातत्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताउनुभयो । मठेश्वरनाथ मन्दिर हो भनेर यकिनसँग अहिले भन्न नसकिने बताउँदै उहाँले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएकाले थप अध्ययन गरिने उल्लेख गर्नुभयो । “उत्खनन गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ”, उहाँले भन्नुभयो ।

विज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब सातदेखि १० हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपिका आधारमा पूर्वमध्यकाल वा आठौँ÷नवौँ शताब्दीको इतिहास हुनसक्ने बताउँदै पुरातत्वविद् दर्नालले मन्दिरका पर्खाल थप पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सक्ने उल्लेख गर्नुभयो ।

सबैला नगरपालिकाका प्रमुख काशीराम यादवले मन्दिरको पश्चिमतर्फ प्रवेशद्वार रहेको यसको संरचनाले देखाउने भन्दै प्रवेशद्वारबाट उत्खनन सुरु गरिएको जानकारी दिनुभयो । “भग्नावशेषको माथिल्लो भाग सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूलाठूला ढुङ्गा एकापसमा जोडिएर रहेका अवस्थामा भेटिएका छन्”, उहाँले भन्नुभयो ।

ढुङ्गा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो सोबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको पुरातत्वविद् दर्नालले बताउनुभयो । मिथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उहाँले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी दिनुभयो ।

“अनुसन्धानका क्रममा यो मन्दिर प्राचीन रहेको प्रमाणित हुन्छ । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ । अन्तिम अध्ययन नसकिएसम्म तथ्य के हो भन्न कठिन छ”, पुरातत्वविद् दर्नालले भन्नुभयो ।

स्थानीयका अनुसार २०३३र२०३४ सालतिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिरका साथै वरपरको क्षेत्र खन्न लगाएका थिए । बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएका भन्दै स्थानीय विन्देश्वर यादवले तत्कालीन समयमा ठूलोलाई रु सात र सानोलाई रु पाँच ज्याला दिइएको स्मरण गर्नुभयो । मन्दिर खनेर ढुङ्गा छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिएको उहाँले बताउनुभयो ।

मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठूलाठूला ढुङ्गा छरपस्ट अवस्थामा छन् । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोजनका लागि यहाँबाट ती ढुङ्गा लगिसकेका छन् ।

“सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिमतर्फ एउटा पोखरी थियो । त्यो पोखरी पनि पुरिएर खेतमा परिणत भएको छ”, नगरप्रमुख यादवले भन्नुभयो । पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यसलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो । यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा पनि समेट्दै आइएको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

विगतमा माध्यमिक परिक्रमा डोला पनि यही मन्दिर हुँदै जाने गरेको स्थानीय बताउँछन् । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर परिक्रमा डोलाका लागि जाने गरेका स्थानीय ७० वर्षीय फेकु यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १७:२६