१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

वर्तमान सत्ता ढल्यो ! एमाले नेतृत्वमा नयाँ सरकार बन्ने


१७ असार, काठमाडौँ । नेकपा माओवादी नेतृत्वको वर्तमान सत्ता गठबन्धन दुर्घटनामा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धन बन्ने र त्यसमा नेपाली कांग्रेससहितका दलहरू सहभागी हुने भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । भोलिसम्ममा प्रधानमन्त्रीमा केपी शर्मा ओलीले सपथ नै खानेगरी राजनीतिक घटनाक्रम अघि बढेको दाबी नयाँ गठबन्धनको अभियानमा लागेका एमालेका नेताहरूले दाबी गरेका छन ।

सोमबार ४ बजेका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक एमालेका मन्त्रीहरूले बहिष्कार गरेका छन । प्रधानमन्त्री कार्यालय स्रोतका अुनसार मन्त्रिपरिषद् बैठकमा रणनीतिक रूपमा रक्षामन्त्री हरि उप्रेती र कृषिमन्त्री ज्वालाकुमारी साहले मात्र सहभागिता जनाएका छन । एमालेबाट सरकारमा सहभागी भएका एक मन्त्रीका स्वकीय सचिवले काठमाडाैँ उपत्यका बाहिर भएका बाहेक सबै मन्त्री बैठकमा सहभागी रहेको जानकारी दिए ।

दिउँसो ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा ४ बजेर ३५ मिनेट जाँदासमेत एमालेका अन्य मन्त्रीले सहभागिता नजाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । उनीहरूले मन्त्रिरिषद् बैठकमा सहभागिता नजाउने पूर्व सूचना समेत दिएका छैनन् । वर्तमान मन्त्रिपरिषद्मा एमालेबाट ८ जना मन्त्री सहभागी छन ।

सिंहदरबारमै भएका मन्त्रीहरू समेत मन्त्रिपरिषद् बैठकमा नगएपछि प्रधानमन्त्री कार्यालयमा एमालेले सरकार छाड्न खोजेको निष्कर्ष निकालिएको छ । यसअघि एमाले अध्यक्ष ओलीले पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरूलाइ काठमाडाैँ नछाड्न निर्देशन दिएका थिए ।

यसअघि बिहान प्रधानमन्त्री निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको छलफलमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि समेत छलफल भएको एमाले निकट स्रोतले जनाएको छ । छलफलमा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने  देखिएकोले त्यसका लागि सहयोग गर्न प्रचण्डसँग आग्रह गरेको स्रोतले बताएको छ । ओलीलाई प्रधानमन्त्री बनाउने देउवाको प्रस्ताव पार्टीको बैठकबाट अनुमोदन गर्न सभापति शेरबहादुर देउवाको निवासमा अहिले पदाधिकारी बैठक जारी रहेको छ ।

यद्यपी बैठको सुरूमा देउवाले ओलीसँगको भेट सकारात्मक भएको, सम्बन्ध सुमधुर रहेको र अहिले केही समय प्रतिक्षा गर्न नेताहरूलाइ आग्रह गरेका छन । यता संसद बैठबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष ओलीले यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो नलागेको प्रतिक्रिया दिएका छन । पत्रकारले प्रधानमन्त्रीको सपथ कहिले लिनुहुन्छ भनेर गरेको प्रश्नमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन ।

(नोटः यसअघि समाचारमा एकपक्षीय स्रोतको सूचनाका आधारमा एमालेका मन्त्रीहरूले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गरेको कुरा समाचारमा उल्लेख भएकोमा क्षमा माग्दै भुलसुधार गरिएको छ । साथै शीर्षकमा रहेको उक्त शब्द समेत हटाइएको छ । आगामी दिनमा यस्तो कमजोरी हुन नदिने प्रतिवद्धता जाहेर गर्दछौँ -सम्पादक)

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १६:४६