१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

रोजगारी र उच्च शिक्षाको बाहनामा नेपालीहरु विदेश पलायन भएका छन्: प्रदेश प्रमुख शर्मा


१४ असार, काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताउनुभएको छ । फोर एच नेपाल नामक सस्थाद्वारा आज यहाँ आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “रोजगारी र उच्च शिक्षाको बाहनामा नेपालीहरु विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके खाध्यमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो ।

हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन हुनु देशका लागि सुखद् नभएको उहाँको भनाइ थियो । नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उहाँले बताउनुभयो । राज्यले पूरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिँदै युवालाई स्वदेशमा नै लगाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “यो देशमा केही हुँदैन भनेर विदेशिन चाहाने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।” कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगबाट नै अग्रमनको खाका तयार हुने उहाँको भनाइ थियो ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एसिया फाउण्डेसनका वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले समाजमा परेको असर रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको जनाउँदै उहाँहरुले कृषिलाई आधुनिकीकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आवश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रम युवा लक्षित बनाउँदै लैजान उहाँहरुले सुझावसमेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा काम गर्ने एक सय बढी युवाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार १४:४५