१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

पश्चिम अष्ट्रेलियामा नेपाली मन्दिरका लागि जग्गा खरिदको संझौता

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियाको पर्थमा सामुदायिक भवन निर्माण गर्न जग्गा खरिद संझौता भएको छ । जुन जमिनमा नेपाली मन्दिर सहित सामुदायिक भवन समेत निर्माण हुने पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरका अध्यक्ष बिनोद दहालले बताए ।

झण्डै १५ हजार नेपालीहरु रहेको पर्थमा आफ्नो संस्कार, रितिरिवाजको जगेर्ना तथा प्रबर्द्धन गर्दैगर्दा पर्थका नेपाली समुदायले आफ्नै सामुदायिक भवन र सांस्कृतिक केन्द्रको आवश्यकता महसुस गरी त्यसका लागि अगाडी बढिरहेका छन्। २०१२देखीको नेपालीहरुको सपनाले गति पाएको छ । त्यस समयमा भजन कीर्तन र देउसी खेलेर शुरु गरेको अभियानले २०१४ मा पर्थ नेपाली मन्दीर तथा समुदायिक भवन सेन्टर औपचारिक दर्ता भएको थियो । यादव शर्माको नेतृत्वमा अगाडि बढेको सेन्टरले २०१७मा आचार्य कमल नयन आएर भागवत लगाएर अर्थ संकलनलाई अगाडी बढाएका थियो । जसमा धेरै दताहरु मध्ये नेपाली समुदायकी अगुवा रोशन शेर्पाले अष्ट्रेलियन डलर ३५ हजार बोलेर त्यहि उपलब्ध समेत गराएकी थिईन् । हालै उनले त्यसलाई एक लाख पुर्याएकी छन् । २०१९ उनै समाजसेवी शेर्पाको अध्यक्षतामा समितिको नयाँ कार्यसमिति चयन भयो । कोरोना महामारी अगाडी झण्डै झण्डै जग्गा किन्ने अवस्थामा जमिनमा केहि कानुनी समस्या भेटर अन्तिम अन्तिममा छोड्नु पर्यो । त्यस पछि पनि नेपाली समदायले प्रयास छाडेन । विचमा कोरोनाले विश्व थलिदा नेपाली समुदाय पनि अछुतो रहने कुरा भएन ।

२०२३अगष्टमा भएको साधारण सभाबाट बिनोद दहालको नेतृत्वमा नया समिति बने पछि देउसी भैलौ मार्फत रकम जोड्न थालियो र झण्डै सात लाख पचास हजार जम्मा बनाएर  २०२४को जनवरीबाट फेरि जग्गाको खोजि थालिएको अध्यक्ष दहालले बताए । यसै विचमा मार्च १० मा कृष्णमान श्रेष्ठको संयोजकत्वमा ५० सदस्यीय आर्थिक संकलन समिति निर्माण गरेर आर्थिक संकलनलाई जोडदिईको छ । जग्गा समेत हेर्दै समुदायमा छलफल गर्दै अगाडी बढेकाले आजिवन सदस्य बन्ने देखी आर्थिक सहयोग गर्ने सदस्यहरुको संख्या बढेर हाल १२ लाख भन्दा बढि रकम जम्मा भएको संयोजक श्रेष्ठले बताए ।

मुख्य पर्थ शहरबाट ३२ किलोमिटर पर आर्माडेलमा १.३८ हेक्टर जमिन खरिदका समुदाय संग समेत छलफल गरेर प्रक्रिया अगाडि बढाईएको निर्माण समिति अध्यक्ष दहालले बताए । जसका लागि वार्ता समिति समेत बनेर झण्डै एक हप्ता बार्गेनिङ समेत गरिको उनले बताए । अध्यक्ष दहालले दश लाख डलर अर्थात झन्डै ९ करोड नेपालीमा खरिद गर्ने संझौता भएको र जुन २८ मा पास हुने समेत बताए ।

नेपालीहरुले सामान्य चाडवाड मनाउनदेखि लिएर ठुला कार्यहरु गर्नका लागि पनि अन्य समुदायहरुद्धारा निर्मित भवन भाडामा लिनुपर्ने बाध्यता रहिआएको छ । भवन निर्माण भइसकेपछि सबै नेपालीहरुले उपयोग गर्न पाउने समितिका अध्यक्ष दहालको भनाई रहेको छ । निर्माण समितिमा झण्डै १२ बर्ष विभिन्न जिम्मेवारीमा निरन्तर क्रियाशिल रहेका अध्यक्ष  दहाल जग्गा खरिद प्रक्रिया पुरा गरे पछि मन्दिर सहित सामुदायिक भवन निर्माणले झनै गतिलिने विश्वास व्यक्त गर्छन् । उनले अहिले खरिद गरिएको जग्गामा भएको भौतिक संरचनामा पनि अस्थायी रूपमा गतिविधी अगाडि बढाउने उनले बताए ।

जमिनको व्यवस्था पछि पश्चिम अष्ट्रेलिया सरकार संग पनि आर्थिक सहयोगका पहल थालिने आर्थिक संकलन समिति संयोजक श्रेष्ठले बताए । उनले समितिले पारदर्शी र समुदायको सक्रियता ढंगले काम अगाडि बढाएकाले पनि सहयोगका लागि समुदायको सक्रियता सोचे भन्दा पनि रहेको बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार १३:३२