३ श्रावण २०८१, बिहीबार | Thu Jul 18 2024

सुनसरीका रिता घुँगीको व्यापारबाट मनग्य आम्दानी गर्दै, मासिक २५ देखि ३० हजार


५ असार, काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहनुभएको छ ।

उहाँले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आउनुभएको छ । मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताउनुभयो । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उहाँको भनाइ छ ।

उहाँले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आउनुभएको छ । उहाँका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन् । उहाँले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताउनुभयो ।

घुँगीको व्यापारबाट उहाँले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो । आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

उहाँले घुँगी प्रतिकिलो रु एक सयमा बिक्री गर्दै आउनुभएको छ । उहाँले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आउनुभएको छ । उहाँले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “घँुगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन् ।”

गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताउनुभयो । जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उहाँको बुझाइ छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १५:५३