१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सभामुख घिमिरेसँग राजदूत तोरुन ड्रामडलकाे शिष्टाचार भेट


२८ जेठ,काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गरेकी छिन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, विकास सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा सभामुख घिमिरेले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कुटनीतिक तहमा भ्रमणको आदानप्रदान भएको, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटनलगायतका क्षेत्रमा सहकार्य भएको उल्लेख गरेको थियो ।

 “विकास साझेदारका रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ”, उनले भने, “नर्वे सरकारले नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनका क्षेत्रमा गरेका कामहरु हाम्रा लागि पनि उपयोगी भएकाे बताए ।” लामो राजनीतिक संक्रमणकालपछि नेपालमा अहिले दिगो आर्थिक विकास तथा शान्ति र स्थायित्वको अभियान सुरु भएको सभामुखको भनाइ थियो ।

त्यस अवसरमा नर्वेजियन राजदूत तोरुन ड्रामडलले सन् १९७३ मा कुटनीतिक सम्बन्ध स्थापना भएपनि सन् १९५० देखि नै दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताएकी थिइन् । उनले आफ्नो मुलुकले नेपालका विभिन्न क्षेत्रमा रु तीन करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको उल्लेख गरिन् ।

राजदूत ड्रामडलले दुई मुलुकबीच समय समयमा उच्चस्तरीय भ्रमण भइरहेको स्मरण गर्दै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिले नेपाल भ्रमण गर्न लागेको जानकारी दिइन्।

 सभामुख घिमिरेले पनि नेपालको संसदीय संसदमा नेपाल–नर्वे संसदीय मैत्री समूह गठन भएको जानकारी दिँदै आगामी सेप्टेम्बरमा नर्वेको परराष्ट्र तथा रक्षासम्बन्धी संसदीय समितिको नेपाल भ्रमणले संसदीय आदान प्रदानलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १७:४८