११ असार २०८१, मंगलवार | Wed Jun 26 2024

सरकारका सचिवहरूले राष्ट्रिय झण्डा चिन्दैनन् कि मान्दैनन् ?


-पवित्रा मुडभरी

६ जेठ, काठमाडौँ । नेपाल सरकारका सचिव र सहसचिवहरू धेरै पढेर र बुझेर सरकारी सेवामा अवसर प्राप्त गरेका हुन्छन भन्ने भ्रम आम नागरिकमा हुन्छ । अझ उनीहरूले संविधान र कानुनका बारेमा जान्छन र जान्नैपर्छ भन्ने मान्यता पनि जवर्जस्त छ ।

हुनत हाम्रो समाजमा कानुन जान्दिन र मान्दिन दुबै भन्न पाइदैन । तर नेपाल सरकारका अधिकांश सचिवहरू, सहसचिवहरू र उपसचिव र अधिकृतहरूले दण्डनीय अपराध मानिने काम दिनहुँ गरिरहेका हुन्छन । उनीहरूले नेपाली भनेर चिनाउने मुख्य पहिचान नै गलत प्रयोग गर्ने गरेका छन ।

राष्ट्रिय झण्डा ।

विदेशीले नेपाली भनेर चिन्ने सबैभन्दा ठूलो पहिचान भनेको राष्ट्रिय झण्डा हो । तर जानेर वा नजानेर त्यही पहिचान पनि सक्नका लागि सरकारका उच्चपदस्थ कर्मचारीहरू गलत राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका हुन्छन । उनीहरूले आफूलेमात्र नभएर अरूलाई पनि गलत राष्ट्रिय झण्डा प्रयोगमा प्रोत्साहित गरिरहेका छन् । यद्यपी उनीहरू कहिले पनि कारबाहीको भागिदार बनेका छैनन् । कानुनी व्यवस्था अनुसार राष्ट्रिय झण्डाको दुरूपयोग गर्नु र गलत प्रयोग गर्नु दण्डनीय अपराध हो ।

जेठ १ गते मंगलबार अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनीले नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्कसँग एउटा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने समयमा गलत राष्ट्रिय झण्डा लगाएको तथ्य दैनिकीले प्राप्त गरेको छ । मरासैनीले छातीको देब्रेपट्टी भागमा गलत राष्ट्रिय झण्डा लगाएर कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति प्रदान गर्ने ९८ लाख अमेरिकी डलर सम्बन्धी सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन ।

दैनिकीले यो तथ्य प्राप्त गरेपछि अर्थसचिव मधुकुमार मरासैनीसँग चासो राख्दा उनले आफूलाई प्रधानमन्त्रीसँग चीन प्रभणमा जाने समयमा परराष्ट्र मन्त्रालयका अधिकारीले लगाइदिएको जानकारी दिए । उनले सोही झण्डा प्रयोग गर्दै आइरहेको बताए । दैनिकीसँगको कुराकानीमा आफूले प्रयोग गर्ने झण्डा गलत रहेकाे भए अर्को पटकदेखि प्रयोग नगर्ने पनि बताए । यसअघि राष्ट्रपति रामचन्द्र पाैडेलले पनि गलत राष्ट्रिय झण्डा प्रयोग गरेपछि दैनिकीले निरन्तर समाचार प्रकाशित गरेर ध्यानाकर्षण गराएपछि गलत राष्ट्रिय झण्डाको प्रयोग रोकेका थिए ।

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको उल्लेख गरिएको छ । तर सचिवहरूले प्रयोग गरेको झण्डामा त्रिकोण रहेको छैन ।

एउटा मान्यता छ कानुन नजान्न र नमान्न पाइदैन । तर नेपालमा कानुनको उलंघन गर्नेहरूकै ठूलो स्वर हुने र उनीहरूले नै जित्ने अवस्था रहेको छ । जसका कारण सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान नै बनेको छ । यहाँ निमुखाहरूले मात्र कानुनको इमान्दारिता पूर्वक पालना गर्छन बाँकीले गच्छेअनुसार कानुनको दुरूपयोग र उलंघन गरिरहेका हुन्छन । यद्यपी कानुनको नजरमा कोही होचो र अग्लो भन्ने हुँदैन् ।

नेपालको राष्ट्रिय झण्डाको अपमान वा दुरूपयोग गर्नेलाई तीन वर्ष कैद वा ३० हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, मुलुकी देवानी संहिता २०७४ सहित विभिन्न कानुनमा रहेको कसुर र त्यसको सजायसम्बन्धी व्यवस्थाहरूमा राष्ट्रिय झण्डाको गलत प्रयोग गर्नेमाथि कारबाही गर्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्,

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

राष्ट्रपतिले छाडेनन् गलत झण्डाको प्रयोग, सुधारको साटो सचिव पनि गलत झण्डाको प्रयोगमा

राष्ट्रिय झण्डाको अपमान गरे तीन वर्ष कैद, के कसुरमा कति हुन्छ सजाय ?

निरन्तर राष्ट्रिय झण्डाको अपमान गर्दै राष्ट्रपति रामचन्द्र पाैडेल, विदेशीका अघि पनि अपमान

अब राष्ट्रिय झण्डा सबैको घरमा फहराउन सकिने, यस्तो छ नयाँ कानुनी व्यवस्था

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १२:२४