२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कांग्रेस नेता श्रीराम ढुङ्गानाको अगुवाइमा काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध

२४ चैत, नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ)ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।

उक्त समितिका संयोजक नेपाली कांग्रेसका नेता समेत रहेका ठेकेदार श्रीराम ढुङ्गानाले रासससँग सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको दाबी गरेका छन । यसअघि काठमाडाैँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन र उपप्रमुख सुनिता डंगोल स्थालगत अवलोकनमा गएको समयमा पनि ढुंगानाले एक्लै आन्दोलन गरेर देखाउने भन्दै केही समय फोहोर बन्द गराएका थिए ।

आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको ढुंगानाले बताएका छन । “फोहर विसर्जनका सम्बन्धमा विगतका सहमतिको कार्यान्वयन र नयाँ मागको सम्बोधनको प्रतिबद्धता नभएसम्म फोहर फाल्न दिँदैनौँ,” उनले भने । बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा काठमाडौँ र ललितपुरका साथै अन्य नगरपालिकाबाट दैनिक एक हजार पाँच सय टन फोहर विर्सजन हुने गरेको छ ।

ढुंगाना नेपाली कांग्रेसको अर्जुननरसिंह केसी समूहका नेता हुन । लामो समयदेखि फोहोरका नाममा पार्टीको प्रतिनिधि बनेर काम गरेका अर्जुन न्यौपानेको अस्वभाविक प्रगतिदेखिपछि ढुंगाना लगायतका अर्को समूहका कांग्रेस नेताहरूले छुट्टै आन्दोलन थालेका हुन । ढुंगाना त्यस क्षेत्रका जन्मिएको भए पनि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर १६ माछापोखरीमा रहेको घरमा बस्दै आएका छन । उनी आन्दोलनका लागि मात्र ककनी जाने गरेका छन ।

कतिपय राजनीतिक दलका नेताहरूले स्थानीयको जग्गाको मुअब्जा दिलाइदिने भनेर पहिल्यै कमिसन लिइसकेर पनि सरकारसँग मुअब्जा दिलाउन नसकेको भन्दै केही स्थानीयले गुनासो समेत गर्ने गरेका छन । केहीले एकै कित्ताको जग्गाको दुइवटा लालपूर्जा बनाएर समेत मुअब्जा लिएका छन ।

यो पनि पढ्नुहोस्,

फोहर व्यवस्थापनमा अबरोध सिर्जना गर्ने कांग्रेस नेता ढुंगानासहित ११ जना पक्राउ

काठमाडाैँका मेयर बालेनलाई लोकमानलाई जस्तै लखेट्ने कांग्रेस नेता ढुंगानाको घोषणा (भिडियो)

जनप्रतिनिधिको सहमतिमा बञ्चरेडाँडा पुगेको फोहोर व्यवस्थापनमा कांग्रेसको अवरोध

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०९:०२