एनआइसी एशिया बैंक संकट उन्मुखः निक्षेप झिक्दै लगानीकर्ता, ३० शाखा बन्द
-प्रतिमा मुडभरी
६ फागुन, काठमाडौँ । एनआइसी एशिया बैंकका शाखाहरु धमाधम बन्द हुन थालेको छ । वाणिज्य बैंकमध्ये शाखा सञ्जालका हिसाबले ठूलो यस बैंकमा आर्थिक संकटका कारण शाखाहरु धमाधम बन्द हुन थालेका हुन् ।
काठमाडौँ उपत्यकाको प्रत्येक १ किलोमिटर दूरीमा एक शाखा वा एक एटिएमको रणनीति अनुसार सञ्जाल बिस्तार गरेको एनआइसी एशियाका लागि अहिले सञ्चालन खर्च धान्न मुस्किल परेको छ । त्यसैले गर्दा बैंकले आफ्नो शाखाहरू बन्द गर्न थालेको छ ।
पटक-पटक विभिन्न विवादमा फसिरहने यस बैंक पछिल्लो समय भने आफैँ संकटमा परेको छ । कुनै समय आफूलाई नम्बर वान दाबी गर्ने बैंकमा खराब कर्जा बढेसँगै संकटमा परेको हो । बैंकमा यतिसम्म संकट गहिरिएको छ कि निक्षेप संकलनमा समेत गम्भीर धक्का लागेकाले केही शाखासमेत बन्द गर्नुपरेको विवरणहरू आएका छन् ।
पाँच दिन अघि मात्र बैंकले ४ वटा काउण्टरहरु बन्द गरेको छ। शाखा रहित बैंकिङ अवधारणा अन्तर्गत सिराहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ नम्बर वडा गोरखाको सिउरिनीटार झापाको बुद्धशान्तिक गाउँपालिका वडा नम्बर ६ बाट दिंदै आएको बैंकिङ सेवा बन्द गरेको हो ।
यसैगरी, बैंकले गत जेठ महिनायता (पाँच महिनामा) ३० वटा शाखा रहित बैंकिङ काउण्टरहरु बन्द गरि सकेको छ। बैंकले जेठ १८ गते १६ वटा, साउन ४ गते ४ वटा कात्तिक २४ गते ६ वटा र माघ २९ गते थप ४ वटा गरी ३० काउण्टर बन्द गरेको हो । फागुन महिनाकाे पहिलो सातामा आइपुग्दा बैंकको जम्मा ४७ वटा शाखा रहित बैंकिङ सेवा काउण्टर रहेका छन् । माघ २९ गते बैंकले प्रकाशन गरेको विज्ञप्तिमा बैंकको ३६० शाखा र ११५ वटा बिस्तारित काउण्टर सञ्चालनमा रहेको उल्लेख छ।
यसैबीच, व्यवसायी दुर्गा प्रसाईँले एनआइसी एशिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो बचत झिक्न भनिरहेका समयमा सर्वसाधारणले पनि बैंकमा राखेको निक्षप झिक्न थालेका छन् । हालै सार्वजनिक एक तथ्यांक अनुसार एनआइसी एशिया बैंकबाट एक महिनामै निक्षेपबाट १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआइसी एशिया बैंकको भने निक्षेप उल्लेख्यरुपमा घटेको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार एनआइसी एशियाको निक्षेप माघ महिनामा ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । गत पुसमा बैंकको कूल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी थियो।
एनआईशी एशिया बैंकको वित्तीय अवस्थाः
एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेर ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ।
१ अर्ब ९० करोड ३८ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४१ प्रतिशतले कम हो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड रूपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा ४ अर्ब ६९ करोडबाट घटेर ३ अर्ब ५६ करोड रुपैयाँ झरेको छ । एनआईशीको खराब कर्जा दर ०.५८ प्रतिशत विन्दुबाट बढेर १.१९ प्रतिशतमा पुगेको छ ।
बैंकको गत आवको दोस्रो त्रैमासको तुलानामा चालु आवको दोस्रो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ३१.१८ रुपैयाँले घट्नुको साथै गत वर्षको पुससम्ममा ५६.७७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालु आवको पुससम्ममा २५.५९ रुपैयाँ मात्र रहेको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १२:५२