सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्दै घोराही सिमेन्ट्स
१ माघ, काठमाडाैँ। घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएकाे छ ।
हाल कम्पनीको अधिकृतपूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्तापूँजीमा बृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।
प्रकाशित मिति : १ माघ २०८०, सोमबार १५:५२












