२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

लाभांश प्रस्ताव पारित गर्दै नेपाल टेलिकमको साधारण सभा सम्पन्न

२९ पुस, काठमाडाैँ। नेपाल टेलिकम कम्पनीको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।साधारणसभामा करिब ९२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।  त्यसैगरी, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन् ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारणसभामा कम्पनीको १६ औं वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू अगाडि बढाएको बताए ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १६:३६