१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

नम्बर वान बैंक बन्यो ग्लोबल आइएमई, यस्तो छ लाभांश इतिहास

१७ पुस, काठमाडाैं । स्थापनाको निकै छोटो समयमै ठूलो फड्को मारेको ग्लोबल आइएमई बैंक अहिले ‘नम्बर वान बैंक’ बनेको छ । ‘सबैका लागी बैंक’ भन्ने नारासहित स्थापना भएकाे ग्लोबल आइएमई बैंक हाल २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर देशकाे नै सबैभन्दा ठूलो बैंक बन्न सफल भएकाे छ । २०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा स्थापित यस बैंककाे चुक्तापूँजी १ अर्ब ५० करोड थियाे ।

यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्च्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।

त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंक यतिमै सीमित रहेन । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो ।

ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीनवटा विकास बैंक मर्ज भइसकेका थिए । त्यसपछि हाथ्वे फाइनान्स पनि ग्लोबल आइएमई बैंकमा बिलय भयो । अर्को वाणिज्य बैंक जनता बैंकसँग सफल मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए । त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि हाल नेपालकै ठूलो र वित्तीय सूचकका हिसाबले पनि नम्बर वान बैंक बनेको छ ।

गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार सुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । आकारको हिसाबले मात्र नभई यो बैंक प्रमुख वित्तीय सूचकमा समेत अरुभन्दा बलियो बन्दैछ ।  मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा पुर्याउने गरी अघि बढिरहेको ग्लोबल आइएमई बैंकका उच्च अधिकारीहरु मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिइएको बताउँछन् । ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिएको छ । सबै क्षेत्र र समाजका ग्राहकहरुलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा “सबैका लागि बैंक” भन्ने दृष्टिकोण सहित बैंकिङ्ग सेवा प्रबाह गरिरहेको जनाएको छ ।

बैंकको वित्तीय स्थिति

नेपालको बैंक तथा वित्तीय संस्थामा ८ प्रतिशत बजार हिस्सा सहित नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा पुगेको छ । गत आवको अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी पनि वृद्धि भएको छ । साथै, सम्पूर्ण नागरिकलाई बैंकिङ पँहुच पुर्याउन ग्लोबल आइएमई बैंकले ११०० भन्दा बढी देश तथा विदेशको सेवा केन्द्रहरुबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले आम्दानी ३ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको संचालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालू आवको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा छ । ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ ।  पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचिको पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्ने वाणिज्य बैंकको रुपमा सम्मानित भएको हो । बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड​को १२ वर्षको लाभांश इतिहास :

चुक्तापूँजीको आधारमा सबैभन्दा ठूलो बनेको यस बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले यस वर्ष १ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश दिएको हो । बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत लाभांश (१२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस सेयर र ४ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद गरि कूल २५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ३.५ प्रतिशत नगद गरि कूल १३.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७८/७९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १०.६ प्रतिशत नगद गरि कूल १३.६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १२:४४