२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

महँगी घट्यो, घ्यू तेल र तरकारीको मूल्य कम

२८ मंसिर, काठमाडाैं ।  कात्तिक महिनामा मूल्य वृद्धि दर (मुद्रास्फिति) केही घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदन अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।

कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १३:५९