१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानविन गर्ने नेकपाको प्रतिबद्धता

१४ फागुन, काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानविन गर्नुपर्ने धारणा अघि सारेकाे छ । बिहिबार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा एक अपिल जारी गर्दै नेकपाले यस्तो बताएको हो ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा विगतका कमीकमजोरी सच्याउँदै देशको अवस्था बदल्न ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आम मतदातालाई आह्वान गरिएको छ।

सुशासन र पारदर्शीतालाई उच्च प्राथमिकतामा राखेको यस पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने कडा नीति अघि सारेको छ। आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने पार्टीको प्रतिबद्धता छ। संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रवाह गर्दै कमिसनतन्त्र, ढिलासुस्ती र अपारदर्शिता जस्ता क्यान्सरका रूपमा फैलिएका बेथितिहरूको अन्त्य गर्ने उल्लेख गरिएको छ ।

‘इतिहासमा कहिल्यै कुनै विदेशी शक्तिको अधीनमा नरहेको हाम्रो राष्ट्रको स्वाधीनता र स्वाभिमानमा आँच आउन सक्ने खतरा महसुस भएको छ।’ अपिलमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी आफ्नो स्थापना कालदेखि नै नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। आज पनि हामी हाम्रो राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गर्दछौँ।’

नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर देशमा संघीयता, समानुपातिक एवं समावेशी सहभागिताजस्ता मौलिक विशेषतासहितको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली स्थापना गरेको उल्लेख गर्दै अहिले यसका विरुद्ध अनेक प्रकारका षड्यन्त्र भइरहेको अपिलमा उल्लेख गरिएको छ । ‘हामी यस प्रणालीविरुद्धका सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ।’ अपिलमा भनिएको छ,‘स्थापित प्रणालीका विरुद्ध गतिविधि गर्दै मुलुकमा अस्थिरता सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ। हामी त्यस प्रकारको दुष्प्रयासलाई परास्त गर्दै मुलुकमा स्थिरता कायम गरी लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न दृढप्रतिज्ञ छौँ।’

 साथै, समाजमा विद्यमान छुवाछुत, छाउपडी, बोक्सी प्रथा लगायतका सबै प्रकारका वर्गीय, जातीय र लैंगिक विभेदको अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित मिति : February 26, 2026 at 5:03 pm