१७ पुष २०८१, बुधबार | Wed Jan 1 2025

कृषिउपज बिक्री गर्न हाटबजार प्रभावकारी बन्दा तनहुँका कृषक उत्साहित

२६ मंसिर, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन् । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ।

यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पुर्याउन कठिनाइ भएको उनले बताए । आँबुखैरेनी गाउँपालिका–३ मा हाटबजार सञ्चालनमा ल्याएपछि यस क्षेत्रका कृषकलाई कृषि उपजहरु बजारीकरणका लागि सजिलो भएको गुरुङले बताए ।

उनले भने, ‘गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ । हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ ।’ छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि यहाँका कृषक हर्षित भएको उनको भनाइ छ ।

मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताए । उनले भने, ‘मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ । कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ ।’

स्थानीय कृषक सङ्गीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरु झन् उत्साहित भएको बताए । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । वार्षिक दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।

किसानले उत्पादन गरेका सामग्री नुभएको छ निर्णय गरेको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ । किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ ।’ यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ ।

हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरु यहाँका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो ।

छिम्केश्वरीका कृषकले हाटबजारबाट एकै दिन एक लाख ७८ हजार छ सयको कृषि सामग्री बिक्री वितरण गरेका छन् । सो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको छ । उनले भने, ‘यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ । मागअनुसार पुर्याउनै सकिएको छैन । यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको हो ।’

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १२:५२