२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

माछापुच्छ्रे सेक्युरिटिजको शुभारम्भ, धितोपत्र बोर्डका अध्यक्ष हमालले गरे उद्घाटन

२१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको शुभारम्भ भएको छ । बिहीबार आयोजित कार्यक्रमका बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले माछापुच्छ्रे सेक्युरिटिजको समुदघाटन गरेका हुन् ।

काठमाडौंको जमलस्थित नेपाल चेम्बर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो ।

कार्यक्रममा बोर्ड अध्यक्ष हमालले धितोपत्र बजारको बिकास र बिस्तारका लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा माछापुच्छ्रे सेक्युरिटिजलाई स्वागत गर्दै लगानीकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनियता बढाउँदै आगामी दिनमा कार्य सफलताको लागि शुभकामना दिए ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष एवं गैर आवासीय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सहायक कम्पनीको रुपमा दर्ता भई धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिजले देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पूर्वाधार तथा नियमन व्यवस्थाहरुको पूर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शी र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले आफूलाई उभ्याउन सक्नुपर्ने बताए ।

कार्यक्रममा माछापुच्छ्रे बैंक, माछापुच्छ्रे क्यापिटल तथा, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडका संचालक समितिका पदाधिकारीहरु, विभिन्न सेक्युरिजिट लिमिटेडका पदाधिकारीहरु, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तहका कर्मचारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १६:५९