२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला गर्दै गण्डकी प्रदेश

२० मंसिर, कास्की । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाबाट पोखरालगायत देशक औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।

‘लगानीको संवर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारमा सम्भावनाको खोजीे तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ । मेलामा दुई सय ५० प्रदर्शनीकक्ष रहने छन् ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवं वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्द्धनका लागि विशेष कक्षको व्यवस्था गरिएको सङ्घका महासचिव बलराम आचार्यले बताए ।

महिला उद्यमशीलता विकासका लागि मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर सृजना गर्न चाहने महिलाका लागि आवश्यक ‘मेसिनरी’प्रदर्शनीको पनि व्यवस्था मिलाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले पहिलोपटक २०४२ सालमा औद्योगिक व्यापार मेलाको आयोजना गरेको थियो ।

प्रकाशित मिति : December 6, 2023 at 10:20 am