२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

एडिलेड नेपाली बिद्यालयको नयाँ व्यवस्थापन समिति गठन, प्राचार्यमा ढकाल र प्रशासकमा बस्नेत


एडिलेड । एडिलेड नेपाली विद्यालयको आगामी दुइ बर्षका लागि नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । शनिवार सम्पन्न अभिभावक भेलाबाट २०२४- २०२६ का लागि व्यवस्थापन गठन गरिएको हो ।

एडिलेड नेपाली समाज अन्तर्गत संचालित विद्यालयका लागि समाजको विधान तथा एथ्नीक स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियाको नियम बमोजिम गठित व्यवस्थापन समितिमा बिद्यालयको प्राचार्य एलिजा ढकाल, बिद्यालय प्रशासक सन्दिप बस्नेत, सहायक प्राचार्य रन्जिता सापकोटा, सदस्यहरुमा लक्ष्मी सापकोटा आचार्य, सुधा किरण सापकोटा, हिमाल राज कडेल, युवराज पहाडी, सन्तोष गौतम, प्रदिप निरौला, राम प्रसाद सिम्खडा रहेका छन् । भने रिक्त थप सदस्य आगामी बैठकबाट थप गरिने जनाईएको छ ।

एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलको अध्यक्षतामा भएको अभिभावक भेलामा विद्यालयकी संस्थापक प्राचार्य तथा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, समाजका जनसम्पर्क अधिकारी सुरेन्द्र रेग्मी लगायतका बक्ताहरुले विद्यालय संचालनको विविध पक्षमा प्रकाश पारेका थिए । भेलामा विद्यालयकी प्राचार्य लक्ष्मी प्राचार्य सापकोटा र विद्यालय प्रशासक सुधा किरण सापकोटाबाट विद्यालयको गत अवधिको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

यसै आइतवार भएको विद्यालयको मातृ संस्था एडिलेड नेपाली समाजको बैठकले नयाँ व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना दिदै कार्यकाल पुरा गरेर बिदा हुदै गरेको विद्यालय टिमलाई धन्यवाद ज्ञापन गरेको थियो ।एडिलेड नेपाली विद्यालयले २०१५ देखि नै एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियामा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ । बिद्यालयमा हाल १२० जना भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । गत बर्षबाट उमेर समुह अनुसार तिनबटा कक्षा संचालन हुदै आएको विद्यालयमा प्रत्येक शनिवार बिहान १०-१२.३० बजे सम्म स्थानिय सरकारी स्वामित्व रहेको एस्कट पार्क प्राइमेरी स्कुलमा संचालन हुने गरेको छ । 

विद्यालयले एथ्नीक स्कुल एसोसियसन तथा विभिन्न सामाजिक संघ संस्थाद्वारा  संचालित सांस्कृतिक कार्यक्रमहरुमा नेपाली मौलिक गित तथा नृत्य प्रस्तुति अलावा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा बालबालिकाहरुलाइ सहभागी गराउदै आएको छ । भने बार्षिक बनभोज जस्ता कार्यक्रमहरु समेत गर्ने गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १७:०५