२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

टिकटक बन्द गरे/नगरेकाबारे २४ घण्टाभित्र जवाफ दिन प्राधिकरणको निर्देशन

१३ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे /नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने जानकारी दिए ।

गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : November 29, 2023 at 11:52 am