२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

आफ्ना जीवित श्रीमानको मृत्यु दर्ता गरी जब श्रीमतीले एकल भत्ता लिइन्…

८ मंसिर, काठमाडाैं । आफ्ना जीवित श्रीमानको मृत्यु दर्ता गरेर एकल महिला भत्ता लिएको आरोपमा श्रीमतीसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हाे ।

रामेछापकाे मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र साेही वडाकी स्थायी वासिन्दा निर्मला खत्रीविरूद्ध मुद्दा दायर भएको हो। खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको अख्तियारकाे आरोप छ। श्रीमतीले आफ्नाे मृत्यु दर्ता बनाएर एकल भत्ता लिएकाे भन्दै खत्रीका श्रीमानले अख्तियारमा उजुरी दिएका थिए ।

यस्तै वडा सचिव महताेले उक्त भत्ता लिनका लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए। मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको आरोप उनीमाथि छ। यसरी भत्ता लिइरहेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान गरी उनिहरूविरूद्ध मुद्दा दायर गरेको हो। एकल महिला भत्ताबाट खत्रीले हालसम्म ४५ हजार दुई सय २० रुपैयाँ लिएको पाइएको छ। अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ।

प्रकाशित मिति : November 24, 2023 at 5:14 pm