१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आशा लघुवित्तका २ सय कर्मचारीले दिए सामूहिक राजीनामा, सिईओले जाँड खाएर धम्काएको आरोप

३ मंसिर, काठमाडाैं। आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले सामूहिक राजीनामा दिएका छन्। मर्जर पश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

साबिक राष्ट्र उत्थानका २ सय कर्मचारीले आशा लघुवित्तको मुख्य कार्यालयमा भौतिक रुपमा उपस्थिति भई संयुक्त राजीनामा दिएसँगै व्यवस्थापनसमक्ष ११ बुँदे माग पनि प्रस्तुत गरेका छन् । आशाले र राष्ट्र उत्थानलाई प्राप्ति गरे पश्चात् आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा गत असार ३१ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो। एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म पनि कर्मचारी व्यवस्थापन नगरेर कर्मचारीमाथि अन्याय गरेपछि राजीनामा घोषणा गरेको उनीहरूको भनाई छ ।

योसँगै आशा लघुवित्त वित्तीय संस्थामा भाँडभैलो सुरु भएको छ । कर्मचारीहरुले आफ्नै कार्यकारी प्रमुख माथि ‘जाँड’ खाएर धम्की दिएको जस्ता गम्भीर आरोप लगाएका छन् । सोही अरोपसहित करिब २ सय कर्मचारीहरुले संयुक्त रुपमा राजीनामा बुझाएका छन् । यसरी राजीनामा दिनेमा सबै साविक राष्ट्र उत्थान लघुवित्तका कर्मचारीहरु रहेका छन् ।

अनावश्यक टर्चर दिएको, सेवा सुविधामा भेदभाव गरिएको लगायतका आरोप लगाउदै उनीहरुले राजीनामा दिएका हुन् । यतिमात्रै होइन आशा लघुवित्तका निमित्त प्रमुख कार्यकारी अधिकृत बद्री दुलाल माथि नै कर्मचारीहरुले मादक पदार्थ सेवन गरेर शाखा निरीक्षणमा आएको भनेर गम्भीर आरोप समेत लगाएका छन् । दूलालले मादक पदार्थ सेवन गरेर शाखा निरीक्षणका नाममा धम्काएको भन्दै आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार ०९:४२