२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण

२७ कात्तिक, त्रिवेणी (रुकुम पश्चिम) । जाजरकोट भूकम्ममा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ । सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई रू १६ लाख र आठबीसकोट नगरपालिकाका २० घरपरिवारका ३१ जनालाई राहतबापत रू ५१ लाख गरी रू ६७ लाख रकम बाँडिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

सानीभेरीबाट सुरु गरिएको नगद वितरण कार्यक्रम आठबीसकोटमा पुगेर समापन भएको थियो । उहाँका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको हो ।

“अब जिल्लामा कागजात मिलाउन बाँकी रहेका नौ घरपरिवारका १२ मृतकको राहतबापतको रकम वितरण गर्न बाँकी छ । तीमध्ये पाँचजना जिल्ला बाहिरका हुन् । जिल्ला बाहिरकालाई पनि सम्बन्धित जिल्लाबाट प्रक्रिया पु¥याएर यहीबाट नगद राहत वितरण गरिने छ”, प्रजिअ पन्तले भन] । सङ्घीय सरकारबाट प्राप्त भएको राहत रकम मृतक परिवारलाई बाँडिएको उहाँले जानकारी दिए ।

सरकाकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई रू दुई लाखका दरले राहत रकम दिएको जनाउँदै एकै घरबाट एकजना भन्दा बढी मृत्यु भएकामा रू दुई लाखमा थप रू एक लाख बढाएर उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए । उनका अनुसार सङ्घीय सरकारले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रू पाँच करोड पठाएको थियो । “हालसम्म रू ६७ लाख वितरण गरिएको छ ।

१२ जनाको राहतबापतको रकम वितरण गर्न बाँकी छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण तथा पुनःस्थापनामा खर्च गरिनेछ”, सहायक प्रजिअ बढुवालले भने । गत कात्तिक १७ गते राति गएको भूकम्पमा जिल्लाका ५२ र उपचारका क्रममा एक गरी ५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : November 13, 2023 at 5:45 pm