२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

दुर्घटनामा एकको मृत्यु, आगलागीमा ३० लाखको क्षति

२७ कात्तिक, काठमाडौं । माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा स्कुटर चालक ईलाम घर भई हाल काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । यसैबीच काठमाडौँ महानगरपालिका–३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

फाइल फाेटाे

ललितपुर महानगरपालिका–२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल नष्ट भएको छ । यस्तै ललितपुर महानगरपालिका–१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका–५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 13, 2023 at 5:27 pm