२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेप्सेमा ३२ अर्ब ३ करोड रुपैयाँ बराबरको आईपीओ सूचीकृत

२७ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३२ अर्ब ३ करोड रुपैयाँ बराबरको आईपीओ सूचीकृत भएको छ। चालु आर्थिक बर्षको तीन महिनामा धितोपत्र बजारमा ३२ अर्ब ३ करोड रुपैयाँ बराबरको आईपीओ, २ अर्ब ५४ करोड रुपैयाँ बराबरको बोनस सेयर र १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ३५ अर्ब ७७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८० /०८१ को असोज मसान्तसम्ममा धितोपत्र बजारको बजार पूँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षकाे सोही अवधिसम्ममा भने बजार पूँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यसैगरी गत आवको असोज मसान्तमा १ हजार ८५८.३३ रहेको नेप्से सूचकांक चालु आवको असोज मसान्तसम्ममा १ हजार ८६४.६२ अंक कायम भएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र,२ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, २ अर्ब ३३ करोड रुपैयाँ बराबरको आईपीओ र १ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कास गर्न अनुमति दिइसकेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा उक्त अवधिसम्ममा सूचीकृत ७ अर्ब ८४ करोड सेयरको चुक्ता मूल्य ७७२ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।उक्त अवधिसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६३ पुगेको छ ।ती कम्पनीहरुमध्ये १३४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन भने ८७ वटा जलविद्युत् कम्पनी, २० वटा उत्पादन तथा प्रशोधन उद्योग, ७ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक संस्था र ४ वटा अन्य समूहका छन्।

गत अवको असोज महिनासम्ममा सूचीकृत कम्पनीहरूको संख्या भने २४२ थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : November 13, 2023 at 12:09 pm