१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तिहारअघि नै सेयरधनी खुसी बनाउँदै चार वाणिज्य बैंक, कुनको लाभांश बाँड्ने क्षमता कति ?

२१ कात्तिक, काठमाडौं । अहिले लाभांशको सिजन चलिरहेको छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीहरूले धमाधम सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । अहिलेसम्म ८ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् भने अरु प्रक्रियामा रहेका छन् । अहिले नेपाल एसबीआई बैंक, नबिल बैंक, एनएमबी बैंक र प्रभु बैंक लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेका छन् । यी बैंकहरूले लाभांश घोषणाको प्रक्रिया पूरा गर्न नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणको प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल ) को लागि पुगेका हुन् ।

लाभांश वितरणको प्रक्रियाका लागि हालसम्म १३ वटा वाणिज्य बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका छन् । जसमध्ये हालसम्म ६ वाणिज्य बैंकले अन्तिम स्वीकृति पाएका छन्। बाँकी ३ वटाले प्रारम्भिक स्वीकृति पाएर अन्तिम स्वीकृति लिने प्रक्रियामा छन्। बाँकी ४ वटा वाणिज्य बैंकले प्रारम्भिक स्वीकृतिको पाइपलाइनमा रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । यी मध्येपनि नबिल, प्रभु, एनएमबी र एसबिआई बैंकले तिहार अगावै स्वीकृति पाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकको वाणिज्य बैंक सुपरीवेक्षण विभागले यी बैंकहरुले पेस गरेको वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएपछि सम्बन्धित बैंकको सञ्चालक समितिले निर्णय गरी आ–आफ्नो क्षमताअनुसार गत वर्षको नाफाबाट सेयरधनीलाए लाभांश वितरण गर्नेछन्।

नबिल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। त्यस्तै, नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ हो। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।

एनएमबी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। साथै, प्रभु बैंकले गत आर्थिक वर्षमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।

राष्ट्र बैंकले एउटा ‘रेन्ज’ भित्र रहेर लाभांश वितरण गर्नका लागि स्वीकृति दिएपछि बैंक सञ्चालक समितिले त्यो सीमा भित्र रहेर लाभांश घोषणा गर्ने गर्छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार १४:०४