१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

दुई कम्पनीको सेयर किन्ने आज अन्तिम दिन, कुनको मूल्य कति ?

२० कात्तिक, काठमाडौं । दुई कम्पनीको सेयरमा खरिद आवेदन दिने आज कात्तिक २० अन्तिम दिन रहेको छ। नेपाल पुनर्बीमा कम्पनी र कुमारी बैंकले लिलामीमार्फत बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।

नेपाल पुनर्बीमा कम्पनीले गत कात्तिक १६ गतेबाट ५ लाख कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कम्पनीले विशाल ग्रपको नाममा रहेको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु र अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

यसैगरी, कुमारी बैंकले गत कात्तिक १४ गतेदेखि संस्थापक समूहको ५ लाख ३० हजार कित्ता सेयर बिक्रीमा राखेको थियो। यो सेयरमा इच्छुक जोसुकै व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि काठमाडौंको  नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : November 6, 2023 at 12:31 pm